दफा ७५
सामूहिक लगानी योजना सञ्चालन सम्बन्धी अन्य व्यवस्था
(१) योजना व्यवस्थापकले सञ्चालन गर्ने सामूहिक लगानी योजनालाई सहभागीहरुको हित अनुकूल सञ्चालन गराउनका लागि गर्नु पर्ने अन्य व्यवस्था र सञ्चालन सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ । (२) सामूहिक लगानी योजनाको सञ्चालन सम्बन्धमा नियमावलीमा देहायका व्यवस्थाहरु गरिनेछः– (क) सामूहिक लगानी योजनाको दर्ता तथा स्वीकृति सम्बन्धी प्रक्रिया तथा शर्तहरुका सम्बन्धमा, (ख) सामूहिक लगानी योजनाको विधान, योजना व्यवस्थापक तथा डिपोजिटरीको काम, कर्तव्य र सहभागीहरुको अधिकार तथा दायित्व सम्बन्धमा, (ग) इकाईको प्रवद्र्धन, बजार व्यवस्थापन तथा वितरण सम्बन्धमा, (घ) इकाईको निष्काशन तथा छूट सम्बन्धमा, (ङ) डिपोजिटरी सेवा तथा योजना सम्बन्धी अन्य व्यवस्थाका सम्बन्धमा, (च) सामूहिक लगानी योजनाको ऋण तथा सापटी सम्बन्धी व्यवस्थालाई नियमित तथा व्यवस्थित गर्ने सम्बन्धमा, (छ) सामूहिक लगानी योजनासँग सम्बन्धित कारोबार तथा आर्थिक स्थिति स्पष्ट देखिने गरी अभिलेख राख्ने र त्यस्तो लेखा तथा अन्य आवश्यक लेखा र अभिलेखको निरीक्षण सम्बन्धी व्यवस्थाका सम्बन्धमा, (ज) सामूहिक लगानी योजनासँग सम्बन्धित आवधिक प्रतिवेदन र त्यस्तो प्रतिवेदन योजनाका सहभागी तथा बोर्ड समक्ष पेश गर्ने सम्बन्धमा, (झ) खण्ड (ङ) मा उल्लिखित सेवा प्रदान गरे बापत लिनु पर्ने फी, पारिश्रमिक, शुल्क सम्बन्धमा, (ञ) सामूहिक लगानी योजनाको रकमको लगानी तथा सापटी व्यवस्थापन सम्बन्धमा, (३) सामूहिक लगानी योजना सञ्चालनका सम्बन्धमा उपदफा (१) मा उल्लिखित व्यवस्थाहरु समावेश गरी नियमावली बनाउँदा सो नियमावलीमा भिन्नाभिन्नै किसिमको सामूहिक लगानी योजनाका लागि भिन्नाभिन्नै व्यवस्थाहरु गर्न सकिनेछ ।